मेसिनबाट धान रोपाइँ [फोटोफिचर]
डाँगीहाट (मोरङ) — यहाँका किसान मेसिनबाट धान रोप्न थालेका छन् । नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकीकरण गर्ने अभियान सञ्चालन गरेपछि किसानलाई
मेसिनबाटै थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने (हार्वेस्टिङ) काम गर्न सहज भएको छ ।



ट्रेमा बीउ राखेर १५ दिनको धानको बेर्ना मेसिनबाट रोप्दा किसानहरूले एक बिघामा १ सय ५० मनसम्म आम्दानी गर्ने गरेका छन् । ट्रेमा बेर्ना उत्पादन गर्ने प्रविधि ब्याडमा बीउ राख्दाभन्दा महँगो परेपछि अहिले नेपाल कृषि कम्पनीले ब्याडमै प्लास्टिक बिछ्याएर बेर्ना तयार गरिदिन थालेको छ ।

यसबाट ८० प्रतिशत लागत घटेको छ । गत शनिबार नेपाल कृषि कम्पनीकै फार्म हाउसमा मेसिनबाट धान रोपियो । त्यस क्रममा नेपाल कृषि कम्पनी निर्देशक वीरेन्द्रबहादुर बस्नेतसहितको टोलीले किसानलाई एकीकृत खेती र आधुनिक प्रविधिबाट खेती गर्दा लागत कम हुने र आम्दानी बढी गर्न सकिनेबारे छलफल गर्यो ।

किसानहरूको समूह बनाई एकैपटक एक हजार बिघा जमिनमा खेती गर्ने योजना रहेको बस्नेतले बताए । किसानलाई खेती गर्न बैंकबाट ६ प्रतिशतमा ऋण प्रवाह गर्ने र मेसिनको माध्यमबाट धान, मकै रोप्ने, गोड्ने र काट्ने काम गर्ने भावी योजना उनले सुनाए ।

एक बिघा जमिनमा सामान्यत: धान रोप्दा २० हल गोरु र ३० जना रोपाहार लाग्छ । धान रोपिसक्दा २२ हजार रुपैयाँ खर्च हुन्छ । तर मेसिनले बीउसहित ११ हजार ५ सयमा एक दिन पनि नलगाई धान रोपिदिन्छ । अहिले उक्त लागत ८ हजारमा घटिसकेको छ । तीन हजार ५ सयमा बीउ राख्न सकिन्छ ।

धान रोप्नेमात्र होइन गोड्ने, खेतमै काटेर दानामात्र घर लान मिल्ने हार्वेस्टर मेसिनसमेत आइसकेको छ । नेपाल कृषि कम्पनीबाट सुनसरी, मोरङ, झापा र मकवानपुरमा समेत यो प्रविधि पुगेको नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक डा.विवेकानन्द झाले बताए । किसानलाई प्रविधिको नि:शुल्क प्रशिक्षण दिने गरिएको छ ।

Comments
Post a Comment